Media Network

रोहितको शतकसँगै नेपालको जित


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेल जित निकालेको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा शनिबार राति भएको अभ्यास खेलमा रोहित पौडेलको शतकसँगै नेपाली टोलीले जित निकालेको हो । 

प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा शनिबार राति भएको अभ्यास खेलमा नेपालले टेक्ससको ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गर्यो । 

नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो । हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए ।

यस्तै, रमिज राजा जुनियरले २९ र एन्ड्रिस गोअसले २८ रन बनाए । बलिङमा नेपालका सोमपालले सर्वाधिक पाँच विकेट लिए । यसबाहेक, किशोर महतो र सागर ढकालले समान दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि २५० रनको योगफल तयार गरेको थियो ।

रोहितले ९० बलमा पाँच चौका र चार छक्कासहित एक सय एक रन बनाए । आरिफ सेखले ४१ रन बनाउँदा, देव खनालले १९, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले १३ र करण केसीले १२ रन बनाए । हरिकेन्सका मोहम्मद इल्यासले सर्वाधिक पाँच विकेट लिए । 

यस्तै, हर्मित सिंहले दुई र हसन रासिदले एक विकेट लिए ।  यसअघि पहिलो अभ्यास खेलमा नेपाल अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो ।

नेपालले अमेरिकामा त्रिदेशीय क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को पहिलो खेलमा २६ जेठमा ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र १ असारमा अमेरिकाको समना गर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद