आइतबार राति भ्यालेन्सियामा भएको खेलमा लेभान्टेलाई पराजित गरेसँगै बार्सा शीर्ष दोस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टिम दास्रो हाफमा निकै आक्रामक बनेका थिए ।
दोस्रो हाफमा २ , २ गोलको बराबरी खेल भइरहँदा खेलको इन्ज्यूरी समयमा बार्साका डि जोङले गोल गरेसँगै बार्सा ३– २ ले विजयी भएको हो । बार्सिलोनाका लागि पिएरे इमेरिक औबामेयाङले खेलको ५९ औं मिनेटमा र पेड्री गोन्जालेजले ६३ औं मिनेटमा गोल गरेका थिए ।
लेभान्टेका जोसे लुइस मारालिस र गोन्जालो मेलेरोले एक एक गोल गरे । लेभान्टेका लागि दुबै गोल पेनाल्टीमार्फत भएको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाएका थिए ।
जितसँगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहेको सेभिल्ला तेस्रो स्थानमा छ । ७२ अंकको रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।