Media Network

त्रिकोणात्मक सिरिजः नेपाल–अमेरिका बराबरी


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । 

जितको लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन नै बनायो । निकै रोमाञ्चक बनेको खेल बराबरीमा टुंगिएपछि दुवै टोलीले १–१ अंक पाए । 

पहिले टस जितेर ब्याटिङ रोजेको नेपालका लागि आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतक पार गर्दै अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट स्कोर खडा गरे । 

रोहितले ६२, आसिफले ६१ र देवले ५४ रन जोडे भने कुशल भुर्तेलले १९ र क्याप्टेन सन्दीप लामिछानेले मात्र १० रनको योगदान गरे । 

जवाफी ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभेन टेलरले शतक पार गर्दै सर्वाधिक १ सय १४ रन तथा कप्तान मोनाङ्क पटेलले ८५ रन जोडेपछि नेपाललाई चुनौति थियो ।  

अन्तिम ओभरमा विजयका निम्ति ६ रनको आवश्यकता परेको अमेरिकासँग ६ विकेट नै सुरक्षित थियो । पहिलो तीन बलमा १–१ रनमात्र दिएका आदिलले चौथो बलमा नो बल गर्न पुगेका थिए । चौथो आधिकारिक बलमा १ रनमात्र दिएका आदिलले पाँचौं बलमा आरोन जोन्सलाई आउट गरे । रोहित पौडेलले डिप मिड विकेटमा सानदार क्याच लिँदै जोन्सलाई आउट गरे ।

स्कोर बराबर भएको अवस्थामा खेलका अन्तिम बलमा राहुल जारिवालालाई रनआउट गर्दै नेपालले हातबाट गुमिसकेको खेललाई बराबरीमा रोक्न सफल भयो । 

मार्चको अन्तिम सातामा नेपालले पपुवा न्यु गिनीविरुद्ध कीर्तिपुरको घरेलु मैदानमा क्रमशः २ सय ८६ र २ सय ७८ रन बनाए पनि पराजय भोगेको थियो । 

अमेरिका भ्रमणमा लिग २ को त्रिकोणात्मक शृंखलामा बिहीबारमात्र २ सय १२ रनको लक्ष्य लिएर आएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भएपछि ओमानसँग १३ रनले पराजित भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद