Media Network

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८२,बिहीबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी दोस्रो संस्करणमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उपाधियात्रा तय गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त सुनिश्चित गरेको हो ।

बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो। खराब शुरुवात गरेको विराटनगरले ६ बलको अन्तरमा ३ विकेट गुमाएको थियो । विराटनगरका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याती कमाएर फाफ डू प्लेसिस ३ बलमा मात्र ४ रन बनाएर आउट हुँदा मार्टिन गुप्टिल ३ बल खेल्दा २ रनमै आउट भए भने बसिर अहमदले पनि ६ बलमा ३ रन मात्र बनाउन सके ।

अपेक्षित ब्याटरहरु ढलेपछि ब्याटिङ सम्हालेका स्पिनर कप्तान सन्दिप लामिछाने ४ बल खेल्दा ३ रनमै आउट भएका थिए । यस्तै, साम हजलेटले २८ बलमा २ छक्का र २ चौकाको मद्दतमा ३४ रन बनाए भने मर्चेन्ट डी लाँगेले २० बलमा १७ रनको योगदान गरे ।


अन्तिम ब्याटिङमा सम्हालिएर खेलेका नरेन भट्टले २१ रन जोडे । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो । लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे ।

दिलिप नाथ १ रनमा आउट भए हुँदा निशोसन डिक्वेलाले २९ रन जोड्न सके भने रुबेल ट्रम्पलम्यानले नटआउट ११ रन जोडे । बलिङमा विराटनगरका सुवास भण्डारी र प्रतिष जिसीले ३, ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

अब उपाधि भिडन्त १४ डिसेम्बरका दिन शनिबार साढे तीन बजे हुनेछ।

गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो भने लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो। यसपटक पनि शुरुमा कमजोर प्रदर्शन गरेको लुम्बिनीले अप्रत्याजित जित हासिल गर्दै प्लेअफमा पुगेको थियो ।

अपराजित रहँदै अघि बढेको सुदूरपश्चिमलाई यसअघि विराटनगरले नै सारदार ढंगले पराजित गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद