Media Network

विश्वकप छनोटः युक्रेन प्ले अफको फाइनलमा


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । युरोप विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डलाई पराजित गर्दै युक्रेन प्ले अफको फाइनलमा प्रवेश गरेको छ । ​बुधबार राति सम्पन्न खेलमा स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै युक्रेन विश्वकप यात्रा नजिक पुगेको हो । प्ले अफ फाइनलमा जित हासिल गर्न सकेमा युक्रेन कतारमा हुने विश्वकपमा भाग लिन पाउने छ । 

बुधबार रातीको खेलमा युक्रेनका लागि एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक–एक गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले,  ४९ औं मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे ।  

खेलको ७९ औं मिनेटमा स्कटल्याण्डका कलुम म्याकग्रेगोरले सान्त्वना गोल फर्काएका थिए । 

दुई टोलीबीचको खेल यसअघि नै हुनुपर्ने भए पनि रुस र युक्रेनबीचको युद्धको कारण ढिला गरी खेलाइएको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । दुबैबीचको खेल जुन ५ मा हुने छ । विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् ।

युरोपबाट यसअघि १२ देश जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड छनोट भइसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद