७८ अंकले बढ्यो सेयर बजार , सबै उपसमूहमा हरियाली


खबरस्टोरी संवाददाता
९ कार्तिक २०७८, मंगलवार
७८ अंकले बढ्यो सेयर बजार , सबै उपसमूहमा हरियाली

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  हरियाली छाएको छ । नेप्से आज ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएकोे थियो । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भनदा बढीले बढेको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । 

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेस्ट फाइनान्स, न्यादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर, राद्यी विद्युत कम्पनी, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो, चन्द्रागिरी हिल्स, सिनर्जी पावर, नेपाल हाइड्रो, बरुण हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, शीवश्री हाइड्रो, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, ग्रिनलाइफ हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, जोशी हाइड्रोपावर, हिमालयन पावर र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभेलमा बढेको छ ।  

नेप्सेका अनुसार आज साना किसान विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज २ प्रतिशतले घटेको छ ।