Media Network

अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा : सराङकोट पुग्ने पर्यटकको संख्यामा वृद्धि


खबरस्टोरी संवाददाता

२ चैत्र २०७८,बुधबार

पोखरा। अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा संचालनमा ल्याएपछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले वृद्दि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।

पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन ( सनराइज)सेवालाई मध्यनजर गरी केवलकार संचालनमा ल्याएपछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि भएको महाप्रबन्धक पौडेलले बताए । केवलकार चढेर सूर्योदयको अवलोकन गर्न सराङकोट पुगेकाहरुले  पनि केवलकारको नँया सेवा प्रति खुशी व्यक्त गरे ।

पोखराबाट सनराइज हेर्न सडकमार्ग हुँदै सराङकोट पुग्न समय र पैसा पनि धेरै खर्च हुने गरेकोमा समय र पैसाको बचत हुने उनिहरुको धारणा छ । नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाडी मोटरसाइकल लिएर सराङकोट पुग्दा आधा घण्टा भन्दा बढी समय लाग्ने मात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाई भोग्नुपरेकाहरुलाई केवलकारको सुर्य दर्शन सेवाले सहज बनाईदिएको प्रतिक्रिया दिए । 

पोखरामा वरिष्ठ पत्रकारको रुपमा समेत चिनिने पराजुलीले पोखराका स्थानीय सर्वसाधारणलाई दृष्टिगत गरि शुरुआतका दिनमा केवलकारको भाडामा केही छुट दिन सकेमा वा सराङकोट पुगेका यात्रुलाई थप केही सुबिधा दिन सकेमा यात्रुको संख्या अझै बढ्न सक्ने भन्दै सराङकोटमा पुग्नेहरुले सनराइज र सनसेट हेर्न तथा हिम शृंखला र फेवाताल समेतको प्राकृतिक सुन्दरता हेर्नेका लागि व्यवस्थित पार्क वा अन्य स्थान बनाउनुपर्ने खाँचों औल्याए ।

पोखराको लेकसाईड नजिक सेदीबगरबाट  जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमश्रृंखला हेर्न पाएको भन्दै पोखराका रेडियोकर्मी तिर्थ केसीले पनि खुशी व्यक्त गरे ।

गत फागुन ६ गते सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म सेवा दिईरहेको केवलकारले मंगलवार अर्थात् चैत १ गतेबाट सुर्य दर्शन सेवा शुरू गरेको हो । नयाँ समय तालिका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केवलकारले यात्रुहरुलाई सेवा दिन थालेको छ । सुर्यदर्शन सेवा संचालनको पहिलो दिन नै सूर्योदय हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या वृद्दि हुनुका साथै मौसम पनि सफा रहेकोले सराङकोट पुग्नेहरुमा प्रशन्नता छाएको अनुभुती राससका फोटोपत्रकार राधिका कँडेलले गरेकी थिईन । यति बेला केवलकार चढ्नेहरु आन्तरिक पर्यटकहरु नै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनिहरुको समेत संख्या बढ्ने अपेक्षा केवलकार व्यवस्थापनको छ ।

महाप्रबन्धक पौडेलका अनुसार विहान १० बजेबाट ५ बजेसम्म सेवा संचालन हुदा पनि ५/६ सय जना जतिले दिनहुँ यात्रा गर्ने गरेकोमा समय थप हुँदा र सुर्यदर्शन सेवा थप हुँदा संख्याबढेको छ । केवलकारसँगै अन्य मनोरन्जनात्मक र साहसिक ईभेन्टहरु थप गर्ने तर्फ पहल भएको मात्र नभएर यांत्रुका लागि नया प्याकेज ल्याउने सन्दर्भमा पनि छलफल भैरहेको छ । सेदीबगरदेखि सराङकोटसम्म केवलकारमा पुग्न करिब १० मिनेट मात्र लाग्छ र फेवाताल सहित प्राकृतिक सुन्दरता अवलोकन गर्दै सराङकोट पुग्न सकिन्छ । 

केवलकारमा आवत जावत गर्न कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद