भूराजनीतिक कारणले पोखरा विमानस्थल सङ्कटमा


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०८२, मंगलवार
भूराजनीतिक कारणले पोखरा विमानस्थल सङ्कटमा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भूराजनीतिका कारण संकटमा पर्ने देखिएको छ । विमानस्थल सञ्चालनमा आएको तीन वर्ष भइसक्दा पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः वर्तमान अवस्था र भविष्यको मार्गचित्र’ विषयमा सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् । 

चीनको एक्जिम बैङ्कको करिब २८ अर्ब ऋणमा विमानस्थल बनेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विमानस्थल निर्माणमा १४ अर्ब रुपियाँ बराबरको अनियमितता भएको दाबी गर्दै पाँच जना पूर्वमन्त्री र १० जना पूर्व सचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । यस्तो अवस्थामा विमानस्थलको अनियमितताबारे छानबिन गरी दोषीलाई कारवाहीसँगै नियमित अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रममा सरोकारवालाले कूटनीतिक पहलमार्फत् ऋणको पुनर्संरचना र भारतीय धावनमार्ग खुलागरी उडान यसको दिगोपनको विकल्प भएको औंल्याएका छन् । 

सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले विमानस्थल गम्भीर संरचनात्मक संकटमा रहेको बताउदै यसलाई ‘सेतो हात्ती’ हुनबाट जोगाउन कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने सुझाव दिए ।  अनुसन्धाता सुरंगना राज्यलक्ष्मी राणाले विमानस्थल निर्माणमा गम्भीर प्राविधिक त्रुटि र आर्थिक अनियमितता देखिएका तथ्यहरु औंल्याउँदै ठुला जहाजले ‘लोड पेनाल्टी’ व्यहोर्नुपर्ने कारण खोज्नुपर्नेमा जोड दिइन् । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विज्ञहरूले विमानस्थललाई ‘सेतो हात्ती’ र ‘भूतको विमानस्थल’ (घोस्ट एयरपोर्ट) को संज्ञा दिएकोमा प्रतिवाद गरेका थिए ।