बजारमा खाना पकाउने ग्यास नपाए टेकु जानु


खबरस्टोरी संवाददाता
२९ माघ २०८२, बुधबार
बजारमा खाना पकाउने ग्यास नपाए टेकु जानु

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरण थालेको छ । बजारमा एलपी ग्यास अभाव देखिएपछि निगमले काठमाडौंको टेकुस्थित कार्यालयबाटै सर्वसाधारणका लागि भन्दै ग्यास विक्री थालेको हो । 

उपभोक्ताहरूले गुनासोपछि निगमले टेकुस्थित कार्यालय परिसरमा काउन्टर नै राखेर ग्यास बिक्री वितरण सुरु गरेको छ । बजारमा नेपाल ग्यास, एभरेष्ट र सुगम ग्यास अभाव छ । बजारको अभाव टार्न भन्दै निगमले आफ्नै कार्यालयमा काउन्टर नै राखेर ग्यास विक्री वितरण थालेको हो ।

नेपाल ग्यासको विक्री वितरण थालिसकेको निमगले एभरेष्ट र सुगम ग्यासको पनि विक्री शुरु गर्ने जनाएको छ । विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ग्यास अत्यावश्यक भएको र आफ्नो डिलरबाट नपाएका उपभोक्ताहरुले खाली सलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्ने ठाकुरले बताए । 

वितरण प्रणालीको असफलताका कारण बजारमा ग्यास भई निगम आफैले नै पसल थाप्नु पर्ने अवस्था आएपनि निगम अधिकारीले भने स्वीकार गरेका छैनन् । ग्यास आयात र आपूर्तिमा कुनै समस्या नै नरहेको ठाकुरले बताए । भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको उनको भनाइ छ ।

नियमित माग अनुसारको आपूर्ति भइरहेको अवस्थामा ग्यास अभावको हल्लाले उपभोक्ताले धेरै सिलिण्डरहरु मौज्दात राख्न खोज्दा समस्या भएको ग्यास उद्योगी ब्यवसायीहरुले बताएका छन् ।