Media Network

बिमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कम्पनी प्रतिस्पर्धाबाट मात्रै छनोट गरिने


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सर्भिसको कम्पनी छनौट नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिस्पर्धाबाट गर्ने भएको छ।

प्राधिकरणले हाल सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको जिम्मा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई दिएको छ।चैत ३० गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन स्वदेशी तथा विदेशी कम्पनीहरुबाट प्रतिस्पर्धा गराएर मात्रै छनोट गर्ने भएको हो ।

यसैगरी जेठ २ गतेबाट सञ्चालनको तयारी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गर्ने भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम पनि नेपाल एयरलाइन्सले नै गर्ने गरी जिम्मा पाइसकेको छ।

कहिले जहाजको गुणस्तर त कहिले जहाज मर्मत सम्भार त कहिले सेवा सुविधा जस्ता विषयलाई लिएर पछिल्लो समयमा एकपछि अर्को विवादमा मुछिदै आएको नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवालाई लिएर पनि विरोध हुदै आईरहेको छ । यद्यपी नेपालमा ह्यान्डलिङ गर्न सक्ने अन्य कम्पनी तथा निकायहरु नभएको भन्दै नेपाल एयरलाईन्सले नै यसको सम्पुर्ण जिम्मा लिदै आईरहेको छ ।

 नेपाल एयरलाइन्सले आम्दानीको मुख्य स्रोत ग्राउन्ड ह्यान्डलिङलाई मानिन्छ । एयरलाईन्स घाटामा रहँदा पनि यसलाई टिकाइ राख्न ग्राउन्ड ह्यान्डलिङको ठुलो भुमिका रहेको त्यहाँ कार्यरत कर्मचारीहरुले पनि बताउँदै आईरहेका छन् ।

ग्राउन्ड ह्यान्डलिङ सेवालाई लिएर पटक पटक प्रश्न उठिरहेको बेला प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सर्भिसका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने कानूनी व्यवस्था गरेको हो। प्राधिकरणबाट जारी भएको नियमावलीको नियम ५ मा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ) शुल्कको विषय समावेश गरिएको छ।सोही नियमको उपनियम १ मा प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरूका लागि भूमिस्थ प्रबन्ध सेवा उपलब्ध गराए वापत भूमिस्थ प्रबन्ध सेवा शुल्क लगाउने व्यवस्था गरेको छ।


साथै नियमावलीमा सेवा शुल्क लगाउने प्रयोजनको लागि भूमिस्थ प्रबन्ध सेवा सञ्चालन गर्ने विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबीच प्रतिस्पर्धा गराइ छनौट भएको संस्थालाई त्यस्तो सेवा उपलब्ध गराउन अनुमति दिने विषय समावेश गरिएको छ।तर प्रतिस्पर्धाबाट समयमै संस्था छनौट गर्न नसकी सेवा प्रवाहमा अवरोध हुने अवस्था देखिएमा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिमा नेपाल सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको संस्थालाई वार्ताद्वारा तोकिएको अवधिसम्मको लागि भूमिस्थ सेवा सञ्चालनको अनुमति दिन सकिने विषय समावेश गरिएको छ।

अहिले नेपाल एयरलाइन्सले विना प्रतिस्पर्धा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएर सेवा दिँदै आएको छ।











Share:
Reaction :
ताजा समाचार
खेलकुद