चोभारको सुख्खा बन्दरगाहको लागि एलसी जारी गर्न सकिने सुविधा


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
चोभारको सुख्खा बन्दरगाहको लागि एलसी जारी गर्न सकिने सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चोभारको सुख्खा बन्दरगाहको लागि समेत एलसी जारी गर्न सकिने सुविधा दिएको छ । राष्ट्र बैंकले मंगलबार एलसीको कारोबार गर्न सक्ने बाणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुको नाममा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । 

बिदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन तथा थप गरी विदेशी विनिमय (नियमित गर्ने ऐन २०१९) को दफा १२ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरिएको राष्ट्र बैंकको भनाई छ । 

‘अन्तराष्ट्रिय व्यापारको लागि जारी हुने प्रतितपत्रमा प्रचलित व्यवस्था बमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने छ । साथै मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भईसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्था बमोजिम चोभार सुक्खा भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने छ ।’– परिपत्रमा भनिएको छ ।