काठमाडौं । चन्द्रागिरी हिल्सले विस्तार गरिरहेको संरचनामा प्रश्न गर्दै स्थानीयले अवरोध गरिरहेको बेला अर्को ठूलो घातको आरोप लागेको छ ।
चन्द्रागिरी हिल्सका जीएम अरुण प्रधानमाथि नक्कली नागरिकता लिएको आरोप लागेको छ । भारतको दार्जिलिङमा स्थायी घर भएका प्रधानले नागरिकता लिने बाटो र उनले नागरिकता लिएको मितिलाई लिएर अनेक शंका उत्पन्न भएका छन् ।
प्रधान २०२७ मा जन्मिएका हुन् भने उनले नागरिकता २०५२ मंसिर १२ गते लिएको देखिन्छ । जन्मिएको २५ वर्षसम्म नागरिकता नै किन लिइएन ? प्रधानले आफ्नो जन्मस्थान झापा शनिश्चरे १ उल्लेख गरेका छन् भने नागरिकताको प्रतिलिपी भने ललितपुर १४ बाट लिएका छन् । उसोतः प्रधानले नागरिकताको प्रतिलिपी समेत २०७१ असोज २९ गते लिएको उनको नागरिकतामा देखिन्छ ।
सन २०१४ अक्टुबर २२ मा प्रधानले लिएको राहदानीमा भने उनको ठेगाना झापा नै उल्लेख छ भने प्रधानले झापाबाट ललितपुरमा सर्दै नागरिकताको प्रतिलिपी लिनुलाई नै शंकाको नजरले हेरिएको छ ।
माध्यामिक शिक्षा दार्जलिङबाट गरेका प्रधानले अधिकांश शिक्षा उताबाट नै हासिल गरेका छन् । हायात होटेलमा उनीसँगै काम गरेका केहि निकटस्थले समेत उनी भारतीय नागरिक भएको र पछि मिलाएर नेपाली बनेको दाबी गर्ने गरेका छन् ।
चन्द्रागिरी हिल्सको जीएम बन्ने प्रधानको योग्यता नै नभएको आरोप लागिरहेको बेला यसको मातृ कम्पनी र सेयरधनीहरुले भने वास्ता गरेका छैनन् । चन्द्रागिरी हिल्स नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको कम्पनी हो ।
उसोतः चन्द्रागिरी हिल्स प्रालीले पछिल्लो समय निर्माण गरिरहेको ब्यान्क्वेटमा स्थानीयले विरोध गरिरहेका छन् । यो निर्माणमा प्रधानसमेत संलग्न रहेका छन् । उनले स्थानीयको माग सुन्नुको सट्टा विवादलाई तन्किन दिएर कम्पनीलाई नै नोक्सानी पु¥याइरहेको स्रोतको दाबी छ । यता, प्रधानलाई जीएम बनाउनका लागि कम्पनीको नियम नै बाधक बन्ने भएपनि यो विषयमा ध्यान नदिइएको केहि कर्मचारीहरुले दाबी गरेका छन् ।
यो विषयमा सम्पर्क गर्न खोज्दा प्रधान सम्पर्कमा आउन चाहेनन् । उसोतः चन्द्रागिरीले १५६ औं वार्षिक साधारणसभा यहि पुसको २३ गते काठमाडौंमा गर्दैछ ।