राष्ट्र बैंकको निर्णय अनुसार यी बैंकले सैद्धान्तिक सहमति पाएको तीन महिना भित्र मर्जरको सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । कारणवश तीन महिना भित्र मर्जरको प्रक्रिया पूरा नभए समय थप गर्नका लागि राष्ट्र बैंकमा आग्रह गर्न सक्ने प्रावधान छ ।
इन्भेष्टमेन्ट र मेगा बैंकले गत जेठ २७ मा तथा ग्लोबलआईएमई र बैंक अफ काठमाण्डूले यही असार २ मा मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए । इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई १०० ः ९० को अनुपात (मेगा बैंकको एक सय कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर) मा गाभ्न लागेको हो । यी बैंकको मर्जर पूरा भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी करिब ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
यस्तै, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू समान अनुपात १ः१ को अनुपात (ग्लोबलको १ सय कित्ता सेयर बराबर बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर) अनुपातमा गाभिन लागेका हुन् । यी बैंकको मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी करिब ३५ अर्ब रुपैयाँ पुग्नेछ ।