डिजिटल वालेटमा क्रान्तिः ६ वर्षमा ‘खल्ती’को २२ लाख ग्राहक


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
डिजिटल वालेटमा क्रान्तिः ६ वर्षमा ‘खल्ती’को २२ लाख ग्राहक
काठमाडौं । नेपालमा केही समयअघिदेखि डिजिटल वालेटको प्रयोग बढ्दै गएको छ । खल्ती, ईसेवा, फोनपे लगायतका वालेटहरुको प्रयोगसँगै वित्तीय संस्थाहरु मात्र नभई दैनिक उपभोग्य वस्तु खरिदमा समेत डिजिटल वालेटको प्रयोग हुन थालेको छ । 

नेपालको प्रविधि विकासमा जोडिएको सबैभन्दा नजिकको क्षेत्र भनेको वित्तीय क्षेत्र हो । नेपालको आर्थिक कारोबार अन्तर्गतको इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि डिजिटल भुक्तानीको सुविधाले कारोबारको क्षेत्रमा कायापलट नै गरिदिएको छ ।

इतिहासको प्रारम्भिक कालखण्डमा वस्तु विनिमयमा भर परेको नेपाली समाज यतिबेला डिजिटल वालेटबाट कारोबार गर्ने स्थानमा पुगेको छ । कुनै समय दिनभर लाइनमा बसेर बिजुली, खानेपानी लगायतको महसुल तिर्नुपर्ने अवस्थासमेत यस्ता डिजिटल वालेटहरुले अन्त्य गरिदिएको छ । 

प्रविधिमा पहुँच बढेसँगै पछिल्लो समय नगदरहित कारोबार बढ्न थालेको छ । डिजिटल कारोबारप्रति आकर्षण बढ्नुको कारण भनेको नै  यो सजिलो, सुरक्षित र पारदर्शी हुनु हो । 

सरकारले डिजिटल कारोबारलाई प्रवद्र्धन गरेपछि झन् नगदरहित कारोबारको सीमा र दायरा फराकिलो हुँदै गएको छ । वालेट प्रयोग गरेर रिचार्ज, बिजुली, पानी, टेलिफोन, इन्टरनेट, टीभी, हवाई टिकटको शुल्क तिर्नु अहिले निकै नै सामान्य भइसकेको छ । यो सुविधाबाहेक हरेक मोबाइल वालेटले थप सुविधा विस्तार गरिरहेका छन् । वालेटले दैनिक उपभोग्य वस्तु खरीददेखि आर्थिक कारोबारसम्म मोबाइलबाट गर्ने प्रणालीको विकास गर्दै गएका छन् ।

स्थापनाको ६ वर्षमा ‘खल्ती’को २२ लाख ग्राहक

डिजिटल वालेटको प्रयोग नेपालमा अहिले सामान्य हुँदै गएको  छ । इन्टरनेटको पहुँच बढ्दै जानुका साथै दुरसञ्चार सेवा प्रदायक कम्पनीले फैलाएको इन्टरनेटको सुविधाले पनि डिजिटल वालेट प्रयोग सहज बनाइदिएको छ ।

सन् २०१७ जनवरी २६ मा स्थापना भएको डिजिटल वालेट ‘खल्ती’को स्थापनाको छैठौँ वर्षमा २२ लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ । हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध रहेको कम्पनीको दाबी छ । 

रिचार्ज गर्न, इन्टरनेट, टिभीको बिल तिर्न, इन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट खरिद, अनलाइन सपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको डिजिटल भुक्तानीका लागि इसेवापछि खल्तीको प्रयोग बढ्दो क्रममा रहेको छ । 

अहिले काठमाडौं उपत्यकामा सञ्चालित सवारी सेवा पठाओ राइडरहरु खल्तीमा आवद्ध रहेकाले खुद्रा पैसा नहुनेहरु ‘खल्ती’ मार्फत नै भुक्तानी गर्न सक्ने प्लाटफर्म मिलाएको छ । 

त्यसैगरी, अहिले खल्तीमा विभिन्न बैंक लिङ्क गर्न सकिन्छ भने मोबाइलमा ब्यालेन्स टपअप गर्ने बेलामा बैंक डाइरेक्ट र स्प्लिट पेमन्ट सेवा प्रयोग गरेर पनि खल्तीले सेवा उपलब्ध गराइरहेको छ ।

इन्जिनियर पढ्दा पढ्दै डिजिटल वालेटमा आकर्षण 

खल्ती एउटा स्वदेशी ब्राण्ड प्रारम्भमा ४ जना सह–संथापक वा लगानीकर्ताहरु ध्रुव अधिकारी, अर्विन शाह, मनिष मोदी र अमित अग्रवालले शुरु गरेका थिए । 

पहिले तीनजना साथी ध्रुव अधिकारी, अर्विन शाह र मनिष मोदी पुल्चोक इन्जिनियरिङ् क्यामपसमा इन्जिनियरिङ अध्ययन गर्दै थिए भने अमित अग्रवाल अर्कै क्याम्पसमा पढ्थे । 

इन्जिनियरिङ अध्यन गर्दैगर्दा वेभ डिजाइनिङ तथा आईटी सम्बन्धी फ्याट्टफुट्ट काम गर्ने यो समूहले आईटी क्षेत्रमा केही गर्नुपर्छ भन्ने जोशका साथ सम्भावना र अवसरहरु खोज्न थाले । 

यसै क्रममा इजिनियरिङ तेस्रो बर्ष अध्ययन गर्दै गर्दा सन् २००७ मा यस टिमले जानकी टेक्नोलाजी प्रालि संचालनमा ल्याए ।  इन्जिनियरिङको पढाइ सकिएसँगै यस टिमले नयाँ कन्सेप्टमा अघि बढ्ने निर्णय गरे । आफ्नो निर्णय अनुरुप जनतालाई एसएमएस मार्फत सूचना पुर्याउन सन् २०१० मा स्प्यारो एसएमएस नामको प्रोडक्ट सार्वजनिक गर्न यो टिम सफल भएको थियो । 

यता एसएमएसमा राम्रो काम गरेर, सिस्टम स्टेबल भइसकेकाले ‘जानकी टेक’ एउटा छुटै कम्पनीको रुपमा स्थापित भयो । जानकी टेक्नोलोजीसँगकै सूचनाको पहुँचमा काम गरिसकेपछि चारजनाले जनतालाई सकारात्मक प्रभाव पार्ने र सवै जनता जोडिने किसिमको अर्को प्लाटर्फम खोज्न थाले । नयाँ प्लाटर्फमका लागि धेरै अध्ययन र ‘वर्कआउट’ गरे । जतिबेला विदेशमा डिजिटल पेमेन्ट गेटवे कम्पनीहरुले तहल्का पिटिरहेको थियो । 

यता, नेपालमा पनि अधिकांशको हातमा मोबाइल टेलिफोन सेवा पुग्नुका साथै इन्टरनेटको पहुँच पनि बिस्तार हुँदै गयो । अन्तर्राष्ट्रियस्तरमा पनि पेटीएम लगायतका डिजिटल पेमेन्ट कम्पनी आक्रामक रुपमा आउन थालिसकेका थिए ।

विदेशमा डिजिटल पेमेन्ट गेटवे कम्पनीहरुले तहल्का पिटिरहेको त्यो समय नेपालमा डिजिटल पेमेन्ट भन्ने कमैलाई थाहा थियो । ईसेवा, आर्ईएमई पे, सजिलो पे, आई पेलगायतका कम्पनी नेपालमा आइसकेका थिए तर, डिजिटाइजेसन भने जम्मा ३ प्रतिशत मात्रै थियो । त्यस समयमा देखिएको डिजिटाइजेसनको कमि र नगदरहित कारोबारको बलियो अबधारणालाई परिपूर्ति गर्ने हिसाबले अन्ततः नयाँ काम गर्ने सोच बनाएको यो टिमले  विभिन्न आईडियासहित सन् २०१७ सालमा खल्ती दर्ता गरे । खल्तीले सन् २०१८ मा राष्ट्र बैंकबाट लाइसेन्स पनि पायो ।

त्यस्तै, ठेट नेपाली नाम, समग्र नेपाललाई प्रतिनिधित्व गर्ने र विदेशमा जाँदा पनि नेपाली ब्रान्डको रुपमा परिचित होस् भन्ने टिमको चाहाना अनुरुप यस डिजिटल पेमेन्ट गेटवे कम्पनीको नाम खल्ती राखियो । 

फिनटेकका ‘कान्छा सीईओ’ खल्तीमा

पछिल्लो समय नेपालमा फाइनान्सियल टेक्नोलोजीको क्षेत्र निकै नै द्रूतगतिमा अगाडि बढिरहेको छ । यस क्षेत्रमा विभिन्न कम्पनीहरू अहिले अगाडि बढ्दै गर्दा सानै उमेरमा फिनटेक क्षेत्रमा जमेका खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का अग्रपंक्तिमा देखिन्छन् । 

फिनटेक क्षेत्रका कान्छा सीईओ भनेर नयाँ परिचय बनाएका खड्का उमेरले भर्खर २७ वर्षका मात्रा भए । हाल उनले  करीब ३०० कर्मचारीको नेतृत्व गर्दै लोकप्रिय फिनटेक कम्पनी ’खल्ती’ सञ्चालन गरिरहेका छन् । 


सीए अध्ययन गरेका खड्काले आफ्नो करिअरको शुरूआत बैङ्किङ्ग क्षेत्रबाट गरे थिए । भविष्यमा फिनटेक कम्पनी अगाडि बढ्ने प्रशस्तै सम्भावना देखेपछि ई–सेवा हुँदै उनले ‘खल्ती’ सम्मको यात्रा गरे । 

विनय खल्तीमा आउनुपूर्व दोस्रो पटक एनआईसी एसिया बैंकमा कार्यरत थिए । त्यतिखेर विभिन्न कम्पनीबाट उनलाई ‘अफर’ पनि आएको थियो तर उनले खल्तीमा सीईओको जिम्मेवारीलाई भने सहजै स्वीकार गरे ।

खल्तीमा अझै पनि मानिसले २४ सै घण्टा आवश्यक काम गर्न तथा जनताको पहुँचमा पु¥याउन धेरै काम बाँकी रहेको सीईओ खड्का बताउँछन् ।

खल्तीको आगामी कार्ययोजना

खल्तीको मुख्य उदेश्य भनेको आर्थिक समावेशीकरण हो । नेपालको दुर–दराज सम्म डिजिटल कारोवारको सेवा पुर्याउने खल्तीको मुख्य योजना रहेको छ ।  

ग्राहकको सुविधाको लागि नयाँ–नयाँ सुविधा तथा विशेषताहरु थप्दै खल्तीले सयौं बर्ष पुरानो क्यास कारोबारको चलनलाई परिवर्तन गरेर डिजिटल पेमेन्टमा ल्याउनको लागि अझै संघर्स गरिरहेको छ । खल्तीले आगामी दिनमा दुर्गममा डिजिटल वित्तिय पहुँच पु¥याउने योजनामा काम गरिरहेको छ । त्यस्तै खल्तीलाई पेमेन्ट एपबाट लाइफ स्टाइल एप बनाउने रणनीति खल्तीका सीईओ खड्काले तयार परेका छन् ।