Media Network

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान अवधि लम्बियो


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान अवधि लम्बिएको छ ।

नयाँ वर्ष र बुद्ध पूर्णिमा २ जेठदेखि नियमित उडानको तयारी थालेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले परीक्षण उडान अवधि दुई साता पछाडि धकेलेको छ । विमानस्थलमा रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले विशेष विमानबाट ६ देखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गरिसकेको छ । यान्त्रिक परीक्षण उडानपछि क्यानले विमानस्थल उडानयोग्य रहेको ‘एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)’ प्रकाशित गरेको थियो  । 

नयाँ विमानस्थलमा नियमित (व्यावसायिक) उडान सुरु गर्नुभन्दा पहिले धावनमार्ग, ट्याक्सी वे, एप्रोनदेखि टर्मिनल भवनका भन्सार, अध्यागमनलगायत हरेक युनिटहरूको अप्रेसनल परीक्षण गरिन्छ । त्यसका लागि नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी जहाजबाट परीक्षण उडान गर्ने तयारी थियो ।

 

किन रोकीयो परीक्षण उडान 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको ४२ दिन नपुगेको कारण देखाउदै सो मितीमा परीक्षण उडान गर्न नसकिएको जनाएको छ ।यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिट टोली नेपाल आएको र क्यानको पूरै टिम अडिटमा रहेकाले १ वैशाखमा अप्रेसनल परीक्षण उडान गर्न नसकिएको क्यानले जनाएको छ । अडिट दुई सातासम्म चल्नेछ ।

त्यसो त अहिले आइकाओको अडिट टिमले नेपालको उड्डयन क्षेत्रको अडिट सुरु गरिसकेको छ । यो क्यानको पूरै टिमले आइकाओको टोलीलाई अडिटमा सघाइरहेको छ । ‘हामीले उड्डयन क्षेत्रमा धेरै सुधार गरिसकेका छौँ, अहिलेको अडिटमा हामीले राम्रो गरेका छौँ, गल्ती, कमिकमजोरी सुधार गरेका छौँ भनेर प्रमाणित गर्नुपर्नेछ,’ प्रवक्ता शाहले भने, ‘यो अडिटलाई सफलतापूर्वक सम्पन्न गर्नु छ ।’ 

युरोपियन युनिएन (इयू)ले नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासो देखाउँदै सूचीमा राखेको छ । यस्तो वेलामा गौतम बुद्ध विमानस्थल उडान खुला नहुँदै परीक्षण उडानले इमेजमा पुन असर पर्न सक्ने भन्दै पुर्ण रुपमा सुरक्षित तबरले बिमानस्थल सञ्चालनको तयारी थालिएको छ ।

 



Share:
Reaction :
ताजा समाचार
खेलकुद