फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालले यही वैशाख १५ गते देखि जेष्ठ ८ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको प्रर्दशनी गर्ने भएको हो ।
प्रदर्शनीमा नेपालका चर्चित १९ वटा कम्पनीका ३० वटाभन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता राखिने छन्। प्रदर्शनीमा जुत्ता चप्पल तथा अन्य वस्तुको खरिदमा १० देखि ५० प्रतिशतसम्म छुट समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।
एशोसियसनले वर्षको दुई पटक काठमाडौँमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारीक मेला आयोजना गर्दै आएको छ। तर, हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत केहि वर्षदेखि कारोनाका कारण स्थगित हुँदै आएको छ।
महिना दिनसम्म लाग्ने यस मेलामा छाला, लेदर बेल्ट, स्कुल सुजदेखि स्पोर्टस् तथा थरीथरीका जुत्ता, चप्पल रहने आयोजकले जनाएको छ। यस पटकको मेलालाई आकर्षक बनाउन स्टल निर्माणमा पृथकता दिइनुका साथै उत्पादनहरुको बेग्लाबेग्लै प्याभिलियनको समेत व्यवस्था गरिएको बताईएको छ । आम नेपालीहरुमा स्वदेशी जुत्ता चप्पल लगाउने बानीको विकास गरी स्वदेशी उद्योगको प्रवर्द्धनका लागि प्रदर्शनीलाई निरन्तरता दिन लागेको आयोजकले बताएको छ।
प्रदर्शनीमा करिब २ लाख ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ भने मेलामा करिब ३ करोड बराबारको कारोबार हुने आयोजकको अनुमान छ ।
नेपालमा हाल साना ठूला गरी १ हजार ५ सयको हाराहरिमा जुत्ता चप्पल उद्योग छन् र ती उद्योगमा २० अर्बभन्दा धेरै लगानी छ।