Media Network

३४ करोडको मन्त्री निवास सजावटको कथा


खबरस्टोरी संवाददाता

९ माघ २०७८,आईतवार

काठमाडौं । देश यतिबेला कोरोना महामारीको चंगुलमा फसेको छ । दैनिकजसो कोरोना संक्रमित हुनेको संख्या बढ्दो छ भने मृतकको संख्यामा समेत क्रमिक रुपमा बृद्वि भइरहेको छ ।

मुलुक आंशिक लकडाउनमा पुगेको अवस्थामा समेत राजनीतिक दल र उनीहरुको स्वार्थसिद्वको चक्रव्यूहको खेलबाट देशले निकास पाउन सकेको छैन ।

पुस माघको यो कठ्याङग्रिदो जाडोलाई छिचोल्न पनि धौ धौ पर्ने जनताको पीडा एकातिर छ भने अर्कोतिर ललितपुरको भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्री निवासको गिज्याउँदो भवन अनि निवासको त्यो सजावटका लागि सरकारले खर्चिन लागेको अस्वभाविक बजेट । 

मन्त्री निवासको भित्री सजावटका लागि मात्रै करिब ३४ करोड रुपैयाँ भन्दा धेरै खर्च हुने देखिएको छ । 

कुल ३४ करोड ७७ लाख ९२ हजार ४ सय ४ रुपैयाँमा ठेक्का लिएको इजी इन्फ्रा प्रालिले २७ मन्त्री निवासको भित्री सजावटको जिम्मा पाएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा पहिलो र दोस्रो चरणका सबै काम सम्पन्न गरिसक्ने योजना रहेको मन्त्री निवास निर्माणको लगभग ६६ प्रतिशत काम सकिइसकेको छ भने भवनको भित्रि सजावटको काम ६ महिनाभित्र सक्ने योजना रहेको छ । 

सरकारले भैँसेपाटीमा मन्त्री आवास निर्माणको लागि २०७६ कात्तिक २७ गते श्रीको हनुमान जेभीसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिएको थियो । सम्झौता दुई वर्ष तोकिए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको थियो । सरकारको सम्झौता भए बमोजिम उक्त आयोजनाको कार्य गत कात्तिकमै सम्पन्न गर्नुपर्ने हो । तर, कोरोनाका कारण देखाउदै सरकारले ६ महिना म्याद थपेको समयअनुसार निर्माण कम्पनी श्रीको हनुमान जेभीले आगामी वैशाखसम्ममा कार्य सम्पन्न गर्नुपर्नेछ ।

निर्माण कम्पनी हनुमान जेभीसँग दुई वर्षअघि ९६ रोपनी १० आना जग्गामा २७ वटा निवास बनाउने काम गर्न १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रियसभाको अध्यक्षको निवास, राष्ट्रियसभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गर्ने योजनासहित ठेक्का लगाएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद