मन्त्री श्रेष्ठले व्यवसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यवसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताए ।
कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भएपनि महामारीका कारण समस्या भएको उनको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए । व्यवसायिक उडान खुला गर्न आवश्यक प्रकृया सुरु गरिएको जानकारी दिदै उनले छिटो संचालन हुने विश्वास समेत दिलाए ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने आज १ सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते १ सय ७० जना जानेछन् । नेपालीहरु मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताए । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दे आएका छन् ।