Media Network

कसिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी, साउनको पहिलो साताभित्र आउनसक्ने


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । 

आगामी साउन महिनाको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारीका साथ बैंकले विभिन्न सर्वसाधारणदेखि विज्ञहरुसंगको छलफल, प्रतिक्रिया लगायत सुझाव संकलन थालेको छ ।  हालै मात्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको छ ।

सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो । 

प्रतिवेदन अनुसार चालु आवको ११ महिनामा कुल वस्तु निर्यात ५३ दशमलव तीन  प्रतिशतले वृद्धि भई एक खर्ब ८५ अर्ब ८४ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।  

मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा रहेका बेला नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउनु पर्ने विज्ञहरुले सुझाव दिइरहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति निकै कडा ल्याउनु पर्नेमा अर्थविद्हरु तथा विज्ञहरुले सुझाएका छन् । मौद्रिक नीति ‘कर्जा विस्तारलाई कन्ट्रोल गर्ने खालको र बजारलाई सन्तुलित गर्ने खालको हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

अहिले मुलुकको अर्थतन्त्र दबाबमा छ । यस्तो अवस्थामा कसिलो मौद्रिक नीति नै अर्थतन्त्रको सुधारक बन्न सक्ने विज्ञहरु बताँउछन् ।

मौद्रिक नीतिसम्बन्धीका विभिन्न छलफल कार्यक्रममा पनि गभर्नर महाप्रसाद अधिकारीले खुकुलो मौद्रिक नीति नल्याउने बताइरहेका छन् । अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने बैकका गभर्नर महाप्रसाद अधिकारीको भनाई छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद