Media Network

कस्तो छ नेपालको वर्तमान आर्थिक अवस्था ?


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।

सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो । 

प्रतिवेदन अनुसार चालु आवको ११ महिनामा कुल वस्तु निर्यात ५३ दशमलव तीन  प्रतिशतले वृद्धि भई एक खर्ब ८५ अर्ब ८४ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१ दशमलव आठ प्रतिशत र ३० दशमलव एक प्रतिशतले बढेपनि चीनतर्फको निर्यात भने २१ दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी, गलैंचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

 यसैगरी, चालु आवको ११ महिनामा कुल वस्तु आयात भने २७ दशमलव पाँच प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड रुपैंयाँ  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव दुई प्रतिशत, १६ प्रतिशत र ४६ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट् स लगायतका वस्तुको आयात बढेपनि एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयातर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनाामा कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ७३ अर्ब २६ करोड बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद