काठमाडौं । पेट्रोलियम ब्यवसायीको आन्दोलनका कारण शुक्रबारदेखि बन्द भएका डिपोहरु आइतबार विहानबाट खुलेका छन् ।
पेट्रोलियम पदार्थको ढुवानी रोकेर शुक्रबारबाट आन्दोलित ब्यवसायी र नेपाल आयल निमगबीच सहमति भएपछि सबै डिपोहरु आइतबार विहानबाट खुलेका हुन् ।
नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले शनिवारको सहमतिपछि आन्दोलन फिर्ता लिएका हुन् । सहमतिपछि आइतबार विहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आएका छन् ।
पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।
व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेको थियो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेको हो ।
पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति जुटेको छ ।
अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भएको छ । पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चालन गरिने सहमतिपत्रमा उल्लेख थियो ।