Media Network

निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन शुक्रवारदेखि शुरु हुँदै


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौं।  नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन यही फागुन २७, २८ र २९ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

साधारण सभा तथा अधिवेशनमा करीब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने  महासंघले जनाएको छ । साधारण सभाकै उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समिति मध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उप महासचिव (२), कोषाध्यक्ष, सह कोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारण सभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने छ । 

अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन् । साधारण सभा तथा अधिवेशन कार्यक्रमरूपमा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए । एसोसिएट उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले एघारौं संशोधन तत्काल सार्वजनिक हुनुपर्ने धारणा राखे । यसैबीच अन्तर्राष्ट्रियस्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्धि सँगै निर्माण सामाग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू थप मारमा परेका महासंघका महासचिव रोशन दाहालले बताए । महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले निर्माण उद्योगका समस्या समाधान गर्ने २३ औं साधारण सभा तथा १२ औं अधिवशेन सफल हुने विश्वास व्यक्त गरे ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद