रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
काठमाडौं।  रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारका दिन कम्पनीको विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरीे छलफलका प्रस्तावहरु प्रस्तुत गरेका थिए । 

कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का तथा बद्री प्रकाश पोखरेल रहेका छन् । सो सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरेको छ । 

यसैगरी सोको आधारमा सैद्धान्तिक स्वीकृतीको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एक आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु पारित गरेको छ । साथै, सभाले कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपैयाँबाट बृद्धि गरी पाँच अर्ब हुने गरी पुंजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।