राष्ट्र बैंकले २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
राष्ट्र बैंकले २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ४ प्रकारमा गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । 

सार्वजनिक बोलकबोलमार्फत निष्काशन हुने उक्त बिलको सोमबार अपरान्ह ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । जेठ १० गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । 

बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । 

यसअघि गत साता पनि राष्ट्र बैंकले १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।