राष्ट्र बैंकले भन्यो– मुुलुकको निर्यात व्यापारमा सुधार


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
राष्ट्र बैंकले भन्यो– मुुलुकको निर्यात व्यापारमा सुधार
काठमाडौं । मुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैकले शुक्रबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धी चालु आर्थिक बर्षको १० महिनाको प्रतिवेदन अनुसार निर्यात व्यापारमा सुधार देखिएको हो । 

प्रतिवेदनअनुसार चालु आवको पछिल्लो १० महिनामा कुल वस्तु निर्यात ५९ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब ७३ अर्ब ३५ करोड रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ दशमलव दुई प्रतिशतले बढेको थियो । 

एक खर्ब ७३ अर्बको बस्तु निर्यात, १६ खर्ब चार अर्बको आयात

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२ दशमलव नौं प्रतिशत र २५ दशमलव छ प्रतिशतले बढेपनि चीनतर्फको निर्यात भने २४ दशमलव नौं प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । 

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्तमञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनामा कुल वस्तु आयात भने २८ प्रतिशतले बढेर १६ खर्ब चार अर्ब ६५ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव तीन प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३ दशमलव आठ प्रतिशत र ४९ दशमलव नौं प्रतिशतले बढेको राष्ट बैंकको भनाई छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेपनि एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, निर्याततर्पm भने कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष सोही आधारमा चालु आवको १० महिनामा कुल वस्तु व्यापार घाटा २४ दशमलव नौं प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैंयाँ पुगेको छ । 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव आठ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ५५ अर्ब आठ करोड रुपैंयाँ बराबरको भएको राष्ट्र बैंकले जनाएको छ ।