राष्ट्र बैंकले पुन एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने


खबरस्टोरी संवाददाता
२३ फाल्गुन २०७८, सोमबार
राष्ट्र बैंकले पुन एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने
काठमाडौ । नेपाल राष्ट्र बैंकले पुन एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकका अनुसार यही फागुन २५ गते बुधबारबाट साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको सिक्का प्रचलनमा ल्याउन लागिएको हो ।

सिक्काको बिशेषताहरुमा सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको, चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश सहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि. वन र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ । नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ । 

सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको, आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।