Media Network

रात्रीकालिन ब्यवसाय अब २४ सै घण्टा


खबरस्टोरी संवाददाता

२६ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । रातीको समयमा त्यो पनि निश्चित समय तोकेर मात्रै सञ्चालन गर्न छुट दिइएको ब्यवसाय अब २४ सै घण्टा सञ्चालन हुन पाउने भएको छ । 

गृहमन्त्रालयले आचारसंहिता र मापदण्ड बनाएर त्यस्ता ब्यवसायलाई २४ सैं घण्टा सञ्चालन गर्न छुट दिने निर्णय गर्दै प्रहरी प्रधान कार्यालय र ७७ वटा जिल्ला प्रशासनलाई नयाँ मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न दिने गरी समन्वय गर्न परिपत्र गरेको छ । 

होटल रेस्टुराँ, दोहोरी, क्लब, डान्स रेष्टुरेन्ट एण्ड बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पबबार, क्लव र डिस्कोथेगजस्ता ब्यवसाय सञ्चालन गर्न रातीमा निश्चित समय तोकिएको थियो । 

सरकारले नयाँ मापदण्ड बनाएर सञ्चालन गर्न छुट दिएपछि यस्ता ब्यवसायहरु पनि अब दिउँसो पनि गरी २४ सै घण्टा निर्वाध रुपमा सञ्चालन गर्न पाइने भएको छ । 

गृहको परिपत्रपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयसहित ७ वटै प्रदेश प्रहरी, संघीय इकाइ र जिल्ला प्रहरी कार्यालयलाई नयाँ मापदण्डअनुसार समन्वय र सहजीकरण तथा सुरक्षा व्यवस्थापन मिलाउन निर्देशन दिएको छ ।

गृहले रोजगारदाता, कर्मचारी र ग्राहकले पालना गर्नुपर्ने आचारसंहिता, समयसीमा, कोभिडसम्बन्धी जनस्वास्थ्य प्रावधान, व्यक्तिगत सरसफाइ तथा सुरक्षा, व्यवसाय परिसरको अवस्था, स्टेज, भौतिक पूर्वाधार, मजदुरको हकहितलगायतका विषय समेटेर ८१ बुँदे मापदण्ड बनाएको छ । 

केही महिनाअघि रात्री व्यवसाय सञ्चालनकै लागि मापदण्ड बनाउन गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा कार्यदल बनाइएको थियो । सोही कार्यदलको सिफारिसअनुसार सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै यस्ता ब्यवसायलाई खुला गरेको हो । 

नयाँ मापदण्डमा रात्रिकालीन व्यवसाय सञ्चालन, अनुगमन, नियमन तथा आचारसंहिता पालनामा व्यवसाय सञ्चालक र आयोजक नै बढी जवाफदेही हुनुपर्ने उल्लेख छ  । मापदण्डमा यस्ता ब्यवसायमा काम गर्ने कर्मचारीको हकहितलाई पनि जोड दिइएको छ ।

मनोरञ्जन प्रधान पर्यटनमुलक ब्यवसायलाई समय सान्दर्भिक रुपमा ब्यवस्थित बनाउन र मर्यादित ब्यवसायको रुपमा विकास गर्न ब्यवसायीहरुको अहम् भूमिका हुने भन्दै ब्यवसायी तथा पेशाकर्मीलाई आचारसंहिता पालना गरी काम गर्न निर्देशन दिइएको छ । 

कर्मचारी/कामदारलाई पदअनुसारको पोशाक, नियुक्तिपत्र, परिचयपत्र, रातको खाना र काम सकेपछि घरसम्म पु¥याउने व्यवस्था रोजगारदाताले मिलाउनु पर्ने पनि आचारसंहितामा उल्लेख छ । 

साथै, डान्स रेष्टुरेन्ट एण्ड बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पबबार, क्लव र डिस्कोथेगजस्ता ब्यवसायमा १८वर्ष मुनिका बालबालिकालाई ग्राहकको रुपमा प्रवेश गर्न निषेध गर्नुपर्ने पनि उल्लेख छ ।

सीसीटीभीबाट व्यवसायस्थलको निगरानी गर्नुपर्ने र त्यस्तो निगरानीको रेकर्ड ३० दिनसम्म राख्नुपर्ने तथा यौन हिंसा, दुर्व्यवहार, मानव तस्करी, अन्य अपराधजन्य कुनै पनि गतिविधि हुन नदिन रोजगारदाता/सञ्चालकले विशेष निगरानी गर्नुपर्ने भनिएको छ । 

गत २०७७ मंसिर १० को मन्त्रिपरिषद् बैठकले कोभिड संक्रमणको अवस्था हेरेर गृह र पर्यटन मन्त्रालयलाई रात्रि व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।  गृहको सुझावका आधारमा पर्यटन मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना गरेर राति ९ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने मापदण्ड तय गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद