सहकारीमा वृद्धि भएको आयकर घटाउन एमालेको माग


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
सहकारीमा वृद्धि भएको आयकर घटाउन एमालेको माग
ललितपुर।  नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सहकारी क्षेत्रमा बढाएको आयकर घटाउन नेकपा एमालेले माग गरेको छ ।

एमाले पार्टी मुख्यालय ललितपुरमा शनिवार बसेको नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले विभागको वैठकले सरकारले सहकारी क्षेत्रमा बढाएको आयकरका सम्बन्धमा गंभिर ध्यानाकार्षण भएको भन्दै तत्काल समायोजन गर्न माग गर्ने निर्णय गरेको हो ।

सहकारी ऐनमा व्यवस्था भए अनुरुप सहकारी क्षेत्रको आयकरको व्यवस्था गर्न विभागले आग्रह गरेको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि तत्काल आयकर समायोजन गर्न माग गरिएको एमाले पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभाग प्रमुख कमल चौलागाईले बताए । संविधानमा भएको तीन खम्बे अर्थनीति तथा सहकारी ऐन २०७४ को व्यवस्था विपरित सरकारले सहकारी क्षेत्रमा आयकर बढाउने निर्णय गरेर सहकारीको विपक्षमा काम गरेको छ, एमाले नेता चौलागाईले भने–समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी क्षेत्रको प्रवद्र्धन आवश्यक छ र त्यसका लागि सरकारले सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्नु पर्छ ।

एमालेको दशौ महाधिवेशनबाट गठित केन्द्रीय समितिले गठन गरेको सहकारी विभागको पहिलो वैठक पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । वैठकमा विभागका सदस्यहरुको परिचयसंगै स्थानीय तह निर्वाचनमा निर्र्वाचित सुर्यविनायक नगरपालिका भक्तपुरका उपप्रमुख सरिता भट्टराईलाई विभागका तर्फबाट सम्मान गरिएको थियो । विभागमा मनोनित सदस्यहरुलाई महासचिव पोखरेलले सपथ गराएका थिए । 

विभागका प्रमुुख कमल चौलागाईको अध्यक्षता र उपप्रमुुख निर्मल भट्टराईको सञ्चालनमा सम्पन्न वैठकमा पार्टीको लेखा आयोगका सदस्य मिनराज कंडेल, विभागका पूर्व सचिव के.बी.उप्रेती, विभागका सदस्यहरु रमेशप्रसाद पोखरेल र परितोष पौड्यालले सहकारीको अवस्था र आयकरका सम्बन्धमा जानकारी गराएका थिए । 

एमाले केन्द्रीय सचिवालय वैठकले सहकारी तथा गरिवी निवारण विभागमा २३ जनालाई सदस्य मनोनयन गरेको छ । पार्टीका पोलिव्यूरो सदस्य कमल चौलागाई प्रमुख तथा केन्द्रीय सदस्यहरु अमृता सुब्बा र निर्मल कुमार भट्टराई उपप्रमुख रहेको विभागका सदस्यहरुमा सहकारी अभियानका अगुवाहरु रमेश प्रसाद पोखरेल, के.बी.उप्रेती, डिबी बस्नेत, परितोष पौड्याल, खेम बहादुर पाठक, भीम तुलाचन, रामचन्द्र उप्रेती, हरिहरनाथ योगी, सरिता भट्टराई, राम बहादुर जि.सी., शान्ति अधिकारी, विश्वनाथ मण्डल, महेन्द्र गिरी, टेक प्रसाद चौलागाई, रामशरण शर्मा घिमिरे, भुवन विक्रम घिमिरे, मिना ढकाल, देवराज पराजुली, शम्भु गुप्ता, डा.खगराज शर्मा, केशव पोखरेल, जिवछराज खड्का र खेमराज सुवेदी रहेका छन् ।