संकटमा आयल निगम– कोटा तोक्नेदेखि शनिबार सवारी साधन निषेधसम्मको प्रस्ताव


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
संकटमा आयल निगम– कोटा तोक्नेदेखि शनिबार सवारी साधन निषेधसम्मको प्रस्ताव
काठमाडौं। यतिबेला देशको एकमात्र तेल सप्लाई गर्ने निकाय नेपाल आयल निगम संकटमा देखिएको छ । 

निगमले तत्कालका लागि संकट टार्न पेट्रोलियम पदार्थको खपत कम गर्न दुईपाङ्ग्रे र साना सवारीसाधनलाई पेट्रोल कम दिनेगरी प्रस्ताव अघि सारेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण वित्तीय स्थिति नाजुक भइरहेको भन्दै निगमले सरकारलाई पत्र लेखेर विभिन्न १० उपाय सिफारिस गरेको छ ।

‘बढीमा एकपटकमा मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर मात्रै इन्धन उपलब्ध गराउने देखि लिएर शनिबार प्रमुख सहरमा सवारी साधन निषेध गर्न पनि सरकारलाई सुझाव समेत निगमले दिएको छ ।

निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनीसहितको गुनासोसमेत सरकारसमक्ष राखेको छ। 


यस्ता छन् निगमका सुझाव

– मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार÷जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिने।

– सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने।

– आइतबार सार्वजनिक बिदा दिने निर्णय पुनः लागू गर्नुपर्ने।

– छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने।

– देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने।

– विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने।

– सार्वजनिक निजी पार्किङ स्थानमा विद्युतीय सवारी साधनका लागि निःशुल्क पार्किङस्थल तोक्नु पर्ने।

– पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र अन्य उपकरण आयातमा प्रतिबन्ध लगाउनु पर्ने।

– एलपीजी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्न र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्नु पर्ने।

– ठूला उद्योग, परियोजना, होटल लगायतले डिजल र एलपीजी ग्यासको खपत नगरी बिजुलीको खपत गर्ने नियम बनाउनु पर्ने।