Media Network

सरकारी कोष रित्तिएपछि बैंकबाट ऋण लिँदै आयल निगम


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौँ । नेपाल आयल निगमको सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि आयल निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिन प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमले निरन्तर घाटा ब्यहोर्दै आएको छ । जसले गर्दा असार मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ रहेको कोष अहिले रित्तिएको छ । भारतीय आयल कर्पोरेसन आईओसी लाई तिर्न अपुग रकम हालसम्म निगमले यहीं कोषबाट झिकेर तिर्दै आएको थियो ।

कोष रित्तिएपछि निगमले ऋण लिनका लागि प्रक्रिया अघि बढाएको हो । जसअन्तर्गत निगमले दुई अर्ब रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदैछ । निगमका सहप्रवक्ता पुस्कार कार्कीले पेट्रोलियम पदार्थको खरिदवापत आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई कठिन भएको बताए । निगमले ४ दिनपछि आईओसीलाई रकम भुक्तानी गर्दैछ ।

निगमले आईओसीबाट पछिल्लो समयमा प्राप्त मूल्यसूची र हालको इन्धन मागअनुसार प्रतिमहिना ७ अर्ब ४७ करोड नोक्सानी रहेको जनाएको छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १८ रुपैयाँ १६ पैसा, डिजेलमा ३० रुपैयाँ ५ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५१ रुपैयाँ नोक्सान छ । हवाई इन्धन र मट्टितेलमा भने फाइदा रहेको निगमले जनाएको छ । बजारमा हाल पेट्रोलको मुल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टिटेल १४३ रुपैयाँ तोकिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद