सवल बन्दै बैंक तथा वित्तीय संस्थाहरु : चार खर्ब आठ अर्ब २६ करोड रुपैयाँ नाघ्यो चुक्ता पुंजी


खबरस्टोरी संवाददाता
१७ फाल्गुन २०७८, मंगलवार
सवल बन्दै बैंक तथा वित्तीय संस्थाहरु : चार खर्ब आठ अर्ब २६ करोड रुपैयाँ नाघ्यो चुक्ता पुंजी

काठमाडौ । नेपाली बैंकिङ क्षेत्र वित्तीयरुपमा सवल बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सुरु गरी चुक्ता पुंजी बृद्धि सम्वन्धी व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा आएपश्चात पनि बैंक तथ फाईनान्स कम्पनीहरु वित्तीयरुपमा सवल भएका हुुन । 

झण्डै पाँच बर्ष अघि राष्ट्र बैंकले बाँणिज्य बैंकहरुको हकमा दुई अर्ब रुपैयाँ चुक्ता पुंजीलाई बढाएर आठ अर्ब पुर्याउनु पर्ने, राष्ट्रियस्तरका बिकास बैंकहरुले ६४ करोड रुपैयाँ चुक्ता पुंजीलाई बढाएर दुई अर्ब रुपैयाँ पुर्याउनु पर्ने र राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरुले २० करोड रुपैयाँ चुक्ता पुंजीलाई बृद्धि गरेर ८० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यसको लागि हकप्रद शेयर र बोनशलाई समेत चुक्ता पुंजीमा गणना गर्न सक्ने व्यवस्था गरिएको थियो । 

केन्द्रिय बैंकले सोही व्यवस्था कार्यान्वयनमा ल्याएकै आधारमा अहिले बैंक तथा फाईनान्स कम्पनीहरु वित्तीयरुपमा निकै नै सवल देखिएका हुन । अहिले सञ्चालनमा रहेका ६७ वटा लघुवित्त वित्तीय संस्थाहरु बाहेक २७ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहित ६१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी चार खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ पुुगेको छ । यो चुक्ता पुंजी भनेको चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले कायम गरेको चुक्ता पुंजी हो, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । प्रवक्ता भट्टका अनुसार बैंकिङ क्षेत्रमा कायम रहेको कुल चुक्ता पुंजी मध्ये बाँणिज्य बैंकहरुको मात्र हिस्सा तीन खर्ब ५९ अर्ब आठ करोड रुपैयाँ रहेको छ । 

यस अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुमा कायम रहेको चुक्ता पुंजी भने क्रमश: ३७ अर्ब ४७ करोड २० लाख र १३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ रहेको छ । अहिले धेरै वटा बैंक तथा बित्तीय संस्थाहरुले बोनस शेयर घोषणा गरेकाकारण आगामी समय बैंकिङ क्षेत्रको कुल चुक्ता पुंजी अझै बढ्न सक्छ्, प्रवक्ता भट्टले भने ।