बुटवल । कोरोना संक्रमणको जोखिमका कारण रोकिएका मेला महोत्सवहरु सुरु हुन थालेका छन् ।
रुपन्देहीको बुटवलमा विहीबारदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ । बुटवलमा कोरोनाका कारण लगातार पछिल्लो दुई वर्ष महोत्सवहरु भएका थिएनन् भने कोरोनाका कारण ब्यापार ब्यवसाय धारासायी बनेको थियो ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ बुटवलमा व्यापार मेला सुरु भएको हो ।
बुटवलको देवीनगर रंगशाला नजिकको खुलाचौरमा विहीबारदेखि सुरु भएको महोत्सव पुस २० गतेसम्म सञ्चालन हुने उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले जानकारी दिए ।
मेलामा आउने अवलोकनकर्ताहरुलाई कोरोनाबाट सुरक्षित रहन अनिवार्य मास्क लगाउनुपर्ने आयोजकले जनाएको छ ।
मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहने जनाइएको छ । मेला अवधिभर ५ लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड कारोबार हुने आयोजकको अपेक्षा छ ।
मेला उद्घाटनअघि बुटवलको मुख्य बजार क्षेत्रबाट झाँकीसहितको र्याली निकालिएको छ ।