नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार अब उद्योगलाई जानकारी दिएर लोड कटौती गरिने छ । क्षेत्रीय संकटका रूपमा ऊर्जा संकट देखिएकाले उद्योगलाई बिजुली कटौती गर्नुपरेको घिसिङले बताए ।
युक्रेनमाथि रुसको आक्रमणको असरका रूपमा कोइला तथा प्राकृतिक ग्यासको अभाव र मूल्यवृद्धिका कारण भारतमा बिजुली उत्पादन घटेको र मागअनुसार उत्पादन नभएपछि मूल्यसमेत बढिरहेको प्राधिरकरणको भनाइ छ । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली नकाटिने प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी रुपन्देहीका उद्योगहरुमा विद्युत कटौती भएको गुनासो उद्योगीहरुले गरेका छन् । उद्योगमा एक महिनादेखि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए ।
रुपन्देहीका ३३ केभीए विद्युततबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको छ । यसरी दैनिक लोडसेडिङ हुन थालेपछि नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको न्यौपानेले बताए ।