Media Network

वाङ यीले बुझाए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौं । चीनको ऋण सहयोगमा निर्माणाधिन पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी नेपाल आएकाबेला शनिवार एक कार्यक्रम गरी सांकेतिक रुपमा चाबी हस्तान्तरण गरिएको हो । 

चिनिया विदेशमन्त्री वाङले शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटको अवसरमा विमानस्थल हस्तान्तरण स्वरुप परराष्ट्रमन्त्री नारायण खड्कालाई चाबी बुझाएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । 

चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो । निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले गरिरहेको छ । 

पोखरा साँघुरो उपत्यका भएका कारण पूर्वबाट मात्र अवतरण र उडान गर्न सक्ने विज्ञहरूको धारणा अनुसार वाइडबडी भएका जहाजको सट्टा करिब १८० सिट क्षमताका न्यारोबडीका जहाज मात्र सञ्चालन गर्न सकिने किसिमले २ हजार ५ सय मिटर धावनमार्ग भएको विमानस्थल निर्माण गरिएको छ । 

पोखरा विमानस्थल आयोजनाका प्रमुख ईन्जिनिअर विनेश मुनंकर्मीकाअनुसार, नेपालमा नै पहिलो पटक कंक्रिटको धावनमार्ग निर्माण गरिएको छ । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने अझै सकिएको छैन ।  विमानस्थल निर्माण कार्य २०७९ असार मसान्तसम्म पूरा गर्नुपर्नेछ । 

यसअघि लक्ष्यभन्दा छ महिना अगावै निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना (कोभिड १९) महामारीका कारण काममा अवरोध आएको थियो । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद