वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला, कसले दिने आवेदन ?


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला, कसले दिने आवेदन ?
काठमाडौँ।  नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गरेको हो ।

 ५ वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशत मात्रै ब्याज दिन्छन् ।

यो वचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर(आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्नेछन् । बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । 

त्यस्तै ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाा र बढीमा १० हजारले भाग गर्दा नि:शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ । यसका लागि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । 

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार १३ गते हुने छ ।