Media Network

आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने


खबरस्टोरी संवाददाता

५ मंसिर २०७८,आईतवार

काठमाडौं । आज (आइतबार)बाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिइने भएको छ । यसअघि दीर्घरोगलाई यो खोप दिइएको थियो।

आइतबारदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि यो खोप  दिने निर्णय भएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए। 

दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो। काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइने छ। तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्। 

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइने छ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो भने यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद