स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।
५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप अन्य समूहका व्यक्तिलाई लगाउन नमिल्ने उनी बताउँछन् । यी समूहका बालबालिकाई फाइजर–बायोएनटेकको सुन्तला रङको क्याप र घेरा भएको भाइलको खोप लगाइन्छ ।
खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने उनले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।
‘खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिदैमा आत्तिन हुँदैन’, उनी भन्छन्, ‘एक सयदेखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’
बालबालिकालाई दिन लागिएको यो खोप पूर्ण सुरक्षित रहेको उनले बताए । यसको प्रभावकारीता ९१ प्रतिशत रहेको छ । खो लगाउँदा एलर्जी हुने, कोभिड संक्रमण भएका र गम्भीर रोगको औषधि खाइरहेका बालबालिकाले चिकित्सकको परामर्श लिएर खोप लगाउनुपर्ने उनले बताए ।