बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज
काठमाडौं । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएको छ । कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका बालबालिकालाई बुस्टरडोज दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिडको दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगिसकेका बालबालिकालाई बुस्टर डोज दिन लागिएको हो । खोप लगाउँदा फरक फरक खोपको मात्रा पनि फरकफरक हुनेछ । 

फाइजर खोप बुस्टर लगाउँदा शून्य दशमलव ३ एमएल र मोर्डना खोप लगाउँदा सून्य दशमलव २५ एमएल दिनुपर्ने मन्त्रालयले जनाएको छ । 

यस्तै, आगामी असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप दिने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिइनेछ । 

पहिलो चरणमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने र दोस्रो चरणमा ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने भएको छ । २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने भएको छ । 

त्यस्तै, ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने भएको छ ।