Media Network

काठमाडौंमा प्रयोग भएका सबै पानीमा हैजाको जीवाणु


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको छ । 

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको हो । 

नैकाप, थानकोट र बल्खुको नमुना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको महाशाखाका प्रमुख डा. चुमनलाल दासले जानकारी दिए ।  

आइतबार लिइएका आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको डा. दासले बताए । सबैजसो नमुनामा हैजा र झाडापखाला फैलाउने जीवाणु भेटिएको महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकाका १५ प्रतिशत जारको पानी पनि प्रदूषित भएको पाइएको महाशाखा प्रमुख दासले बताए । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले संकलन गरेको पानीका नमुनामध्ये ७२ प्रतिशतमा प्रदूषण देखिएको छ ।

डा.दासकाअनुसार परीक्षण गरिएका नमुनामध्ये अधिकांशमा इकोलाई भेटिएकाले उपत्यकामा हैजा फैलिने प्रबल सम्भावना रहेको छ । 

काठमाडौंमा आइतबारसम्म १२ जनामा हैजाको जिवाणु भेटिएको छ । तीमध्ये आठजना निको भइसकेका छन् भने चारजना उपचाररत छन् ।  

वर्षाका कारण सतहको दूषित पानी जमिनमुनिको स्रोतमा पुग्ने हुनाले इनार तथा बोरिङको पानीसमेत असुरक्षित रहेको बताइएको छ । उपत्यकाका कतिपय स्थानमा ढलका पुराना पाइप फुटेर दिसा मिसिएर पनि जमिनमुनिको पानी प्रदूषित हुने गरेको पाइएको छ । 

काठमाडौंमा आजदेखि २४ घण्टा हटलाइन 

काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै कामपाका प्रमुख बालेन्द्र शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद