Media Network

नयाँ भेरियन्ट ओमिक्रोनबाट जोगाउन आवश्यक तयारीका लागी स्वास्थ्य मन्त्रालयलाई समितिको निर्देशन


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट जनताको स्वास्थ्य सुरक्षा गर्नका निम्ति आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा आज बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई जानकारि गराएको छ।

हालै भारतमा देखापरेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भइसकेकाले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने भन्दै सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

सभापति घर्तीले ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् । त्यस्तै, उनका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएकी छन् ।

नयाँ भेरियन्ट सहितको कोरोनाबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिएकी छन् ।

"ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्छ । यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्वतयारीको लागि मन्त्रालय लाग्नुस्," उनले भनिन्, "नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने सबै मानिसलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर गरि यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ ।"

अहिलेको राजनीतिक मुद्दा भन्दापनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि सभापति घर्तीले निर्देशन दिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद