Media Network

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव


खबरस्टोरी संवाददाता

२४ कार्तिक २०७८,बुधबार

बाजुरा। बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार  र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ ।

 अवरुद्ध सडक सुचारु नहुँदा  पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताइन् । उनले स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गरिन्  । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको जनाइएको छ । 

चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने गरेका छन् ।  उनले भने “स्वास्थ्य संस्थामा बिरामी सिकिस्त भएपछि मात्रै उपचारका लागि आउने गर्दछन् ।  उनीहरूलाई उपचार गर्दा औषधि अभाव भएकाले कोल्टी वा अन्यत्र पठाउने गरेका छौँ । ” 

 स्वामीकार्तिक–२ बर्कु आधारभूत स्वास्थ्य केन्द्रका सिअहेव बद्री शाहीले बाटोको समस्याका कारण स्वास्थ्य संस्थामा औषधि अभाव भएको जानकारी दिए । बर्कु स्वास्थ्यचौकीमा सिटामोल सहित अन्य  औषधिसमेत अपुग भएको उनले बताए । 

पूर्वी उत्तरी भेगको जगन्नाथ –१ मा रहेको जगन्नाथ स्वास्थ्यचौकीका प्रमुख फूलमाया उपाध्यायले सिटामोल समेत सकिएको जानकारी दिए ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सडक नखुलेका कारण जिल्लामा औषधि अभाव भएको बताए । उनले भने, “साँफे–मार्तडी राजमार्ग र मार्तडी–कोल्टी सडक सञ्चालनमा आउने वित्तिकै तत्काल औषधि स्थानीय तहमा पठाउने तयारी भइरहेको छ ।  ”

 बाटो नखुलेका कारण प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लामा औषधि नपठाएको जनाइएको छ ।  स्थानीय तहमा औषधि अभाव नहुने गरी निर्देशनालयमा माग गरिएको उनले बताए ।

 यहाँका बुढीगङ्गा नगरपालिका र गौमुल गाउँपालिकामा औषधि पर्याप्त रहेको बताइएको छ । जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, झाडापखाला र वान्ताका बिरामी बढी आउने गरेका जनाइएको  छ ।  रासस 


Share:
Reaction :
ताजा समाचार
खेलकुद