Media Network

सिंहदरबार वैद्यखानामा औषधि उत्पादन शुरु


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं ।  चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखानामा औषधि उत्पादन शुरु भएको छ । सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला औषधि बनाउन थालिएको हो । 

गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको वैद्यखाना विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण भने सात महिनाअघिदेखि सकिएर विक्री कक्ष खाली रहेको थियो ।

काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय हाजिर मात्रै गरेर फर्कने गरेका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादवलाई नियुक्त गरेको थियो । 

यसैबीच, उत्पादन र बिक्री नभएपछि राेकिएकाे चार महिनादेखिकाे तलब पनि समितिका कर्मचारीले  पाएका छन् ।  निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक हप्तामा कर्मचारीलाई चार महिनाको तलब बैंक खातामा पठाएका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद