रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले दियो सैन्य सहयोग


खबरस्टोरी संवाददाता
१५ फाल्गुन २०७८, आईतवार
रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले दियो सैन्य सहयोग

एजेन्सी। अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न साे रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

यसैबीच, युक्रेनी सैनिकहरूले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने समेत बताएका छन् ।  

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरुमा जनाइएको छ । त्यस्तै रुसी हमलाका कारण हाल १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।