यांगुन । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई म्यानमार अदालतले चारवर्षको जेल सजाय सुनाएको छ ।
उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनीविरुद्ध ११ वटा आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, उनले आफूविरुद्धका आरोपहरुको खण्डन गरेकी छिन् ।
गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सूचीको दल एनएलडीले बहुमत ल्याएको उक्त संसदीय चुनावमा धाँधली भएको भन्दै सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेको थियो । त्यसयता सूची आफ्नो घरमै नजरबन्दमा छिन् भने उनीविरुद्ध दर्जनौं अभियोग लगाइएको छ ।
सरकारी प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार आङसाङ सुचीलाई उक्साएको आरोपमा दुईवर्ष र कोभिड–१९ नियम उल्लङ्घन गरेकोमा दुई वर्ष सजाय दिइएको छ। प्रवक्ता जाव मिन तुनले पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सोही आरोपमा चार वर्षको जेल सजाय भएको बताए ।