अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो-प्यासिफिक बारे प्रतिबद्धता


खबरस्टोरी संवाददाता
२६ मंसिर २०७८, आईतवार
अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो-प्यासिफिक बारे प्रतिबद्धता

लिभरपुल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो-प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गरेका छन् ।

"आज मेरो असल साथी मारिस पेनसँग भेट्न पाउँदा खुसी लाग्यो । हामीले शान्तिपूर्ण र सुरक्षित इन्डो-प्यासिफिक, कोभिड-१९ आर्थिक पुनःउत्थान र यस क्षेत्रका हाम्रा नागरिकहरू र साझेदारहरूका लागि नतिजाहरू प्रदान गर्न र सहयोग गर्न दुवै राष्ट्रहरूको गहिरो प्रतिबद्धतालाई पुन: पुष्टि गर्यौं ।" ब्लिन्केनले ट्वीटमा उल्लेक गरेका छन् । 

बेलायतमा सम्पन्न औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को विदेश मन्त्रीहरुको बैठकको क्रममा दुवै नेताबीच भेटवार्ता भएको हो ।

उनीहरूले अमेरिका-अष्ट्रेलिया गठबन्धनलाई अझ गहिरो बनाउने, अर्को दशकमा महत्वाकांक्षी जलवायु कार्यमा प्रतिबद्धताको महत्त्व र विश्वभर लोकतन्त्रको रक्षा, सुदृढीकरण र नवीकरण जारी राख्न समान विचारधाराका सहयोगी र साझेदारहरूको आवश्यकताबारे पनि छलफल गरेको, विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

उनीहरूले युक्रेन विरुद्ध रुसको चलिरहेको आक्रामकता बारे पनि चिन्ता व्यक्त गरेका छन् । धम्की वा जबरजस्तीको सहारा नगरी क्रस-स्ट्रेट मुद्दाहरूको शान्तिपूर्ण समाधानको लागि समर्थन दोहोर्याउँदै विश्वव्यापी स्वास्थ्य विकासमा ताइवानको महत्त्वपूर्ण योगदानमा समेत जोड दिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, "दुवै नेताले यस क्षेत्रमा संयुक्त प्रयास गर्न र कोभिड–१९ बाट ग्रस्त क्षेत्रको राम्रोसँग पुन: निर्माण गर्न प्रतिवद्धता" जनाएका छन् ।