काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ ।
८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो । जियाको मंगलबार बिहान करिब ६ बजे, फज्रको नमाजपछि केही समयमै निधन भएको हो । उनी पछिल्ला केही महिनादेखि अस्वस्थ थिइन् र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन् ।
गत २५ डिसेम्बरमा उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए । उनको स्वदेश फिर्तीको पाँच दिन नबित्दै खालिदा जियाको निधन भएको हो ।
चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्या पछि राजनीतिमा प्रवेश गरेकी थिइन् ।
सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उनले बिएनपीको नेतृत्व सम्हालेकी थिइन्।
उनी सन् १९९१ मा उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
बिएनपीले सन् १९९१ को निर्वाचन जितेपछि उनी प्रधानमन्त्री बनेकी थिइन् भने सन् २००१ मा पुनः सत्तामा फर्केर २००६ सम्म सरकारको नेतृत्व गरिन् । बिएनपीले पछिल्ला तीन संसदीय चुनाव बहिस्कार गरेको थियो।