बंगलादेशमा दुई वर्षअघि भएको युवा विद्रोहपछि पहिलो पटक भएको आमचुनावबाट बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट जितेको छ ।
२ सय ९९ सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्नेमा बिएनपीले अहिलेसम्म दुई तिहाई सिट अर्थात २१३ सिट जितिसकेको छ । प्रतिनिधि सभाको ३०० सिटमध्ये २९९ सिटमा चुनाव भएको थियो ।
एक उम्मेदवारको मृत्यु भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको थियो ।
यसपालि शेख हसिनाको पार्टी अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण बिएनपीलाई दुई तिहाई जित निकाल्न सहज भएको हो । २०२४ को जुलाइमा विद्यार्थीको आन्दोलन चर्किँएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर भागेकी हसिनाले भारतमा निर्वासित जीवन विताइरहेकी छन् ।
अवामी लिगको अनुपस्थितिमा जमात–ए–मुस्लिम पार्टीले बिएनपीसँग प्रतिस्पर्धा गरेको थियो । जमात–ए–मुस्लिमले विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी (एनसिपी) लगायत ११ दलसँग गठबन्धन गरेको थियो । उक्त गठबन्धनले ७६ सिटमा जित हासिल गरेको छ । एनसिपीका भने ६ जना उम्मेदवार मात्रै विजयी भएका छन् ।
मतगणनाप्रति जमात–ए–इस्लाम र एनसीपी असन्तुष्ट
जमात–ए–इस्लामले चुनावी परिणाम र मतगणनाको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । उसँगै गठबन्धन गरेको एनसिपीले पनि मतगणनाप्रति प्रश्न उठाएको छ ।
एनसीपीले विवादित क्षेत्रको मतगणना पुनःजाँच गर्न, आवश्यक परे पुनःप्रमाणीकरण गर्न र निष्पक्ष ढंगले अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
एनसिपी प्रवक्ता आशिफ महमुदले अन्तिम नतिजा सार्वजनिक गर्नुअघि विवादित सिटहरूको पुनःसमीक्षा गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
तारिक रहमान प्र्रधानमन्त्री बन्ने
पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिक रहमान नेतृत्वको बिएनपीलाई बंगलादेशका जनताले भव्य अनुमोदन गरेको भनेर त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । निर्वाचन आयोगले औपचारिक नतिजा घोषणा गरेपछि बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुनेछन् ।