बंगलादेशमा युवा विद्रोहपछि बिहीबार पहिलो पटक संसदीय निर्वाचनको मतदान भएको छ । देशभरका ३६ हजार मतदान केन्द्रमा मत खसालिएको थियो । विहीबार बेलुकाबाट नै मतगणना शुरु गरिएको छ ।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, बीएनपी प्रमुख तारिक रहमान र विद्यार्थी नेता नाहिद इस्लामले पनि मतदान गरेका थिए । जसलाई अन्तरिम सरकार प्रमुख युनुसल ‘आज नयाँ बंगलादेशको जन्म भएको’ प्रतिक्रिया दिएका छन् ।
यद्यपी मतदान शान्तिपूर्ण भने हुन सकेन । खुलनामा एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ ।
यस्तै गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएका छन् ।
सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक फेब्रुअरी १२ मा संसदीय चुनाव भएको हो । यो निर्वाचनले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउनेछ ।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्रीको प्रमुख दाबेदार छन् । उनको पार्टी बीएनपी विजयी भएका खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुनेछन् । जमात–ए–इस्लामी नेता सिफुकर रहमान र युवा दल एनसीपी नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका अर्का दाबेदार छन् ।
निर्वाचन रद्द गर्न हसिनाको माग
आन्दोलनका क्रममा बंगलादेशबाट भागेर भारतमा शरण लिइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले चुनावलाई धाँधलीपूर्ण भन्दै रद्द गर्न माग गरेकी छन् । साथै उनले अन्तरिम सरकारका प्रमुख युनुसको राजीनामा पनि मागेकी छन् । हसिनाको दल आवामी लिगलाई यो निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।