लन्डन । बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेको छ ।
ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ । प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भनेका हुन् ।
यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका छन् । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थए । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । सङ्क्रमणहरू प्रत्येक दुईदेखि ३ दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर 'हामीले पहिले कहिल्यै नदेखेको कुरा हो' उनले भनेका छन् ।
बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् यसैसँगै १ करोड ८७ लाख ३ हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्यांकमा जनाइएको छ । यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा १, ४६ हजार ४७७ जनाको मृत्यु भएको छ । अझै पनि बेलायतमा ७ हजार ३७२ जना अस्पतालमा नै उपचाररत रहेका छन् ।