चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओ नेपाल आउँदै


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओ नेपाल आउँदै
काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि लिउ जियानचाओ नेपालको ४ दिने भ्रमणमा आउँदैछन् । उनी आइतबार नेपाल आउने तय भइसकेको छ ।

एक महिना अघि सङ टाओको ठाउँमा सीसीपीका विदेश विभाग प्रमुख बनेका थिए जियानचाओ । उनले दुई हप्ता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भर्चुअल संवाद गरिसकेका छन् । विशेषगरी उनको ध्यान नेपालका कम्युनिस्ट पार्टीहरुमा देखिएको छ ।

नेपाल भ्रमणका बेला जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादु देउवाका अलावा कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । काँग्रेससँग भने पार्टीगत तहमा छलफल हुनेबारे कुनै जानकारी छैन ।

नेपालमा कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहँदा सीसीपीका विदेश विभाग प्रमुखको भ्रमण हुन लागेको हो । विगतमा कम्युनिस्ट एकता जोगाउन पनि चीनले उच्च तहको प्रतिनिधिमण्डल पठाएको थियो ।प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा कम्युनिस्ट पार्टीहरुबीच एकताको विषय उठिरहेको छ । चिनियाँ पक्षले यसमा विशेष पहल गरिरहेको चर्चा चल्दै आएको छ ।